काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनको लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताएका छन् ।
मङ्गलवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताए ।
विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने उनले उल्लेख गरे । उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान रहेको उनले जिकिर गरे । यो आफूहरूको मात्रै नभएर १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको माग रहेको समेत उनकाे भनाइ छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद्मा अवरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्