सुनकोशी गाउँपालिकाः बजेट सक्न असारमा २५% खर्च, लागत अनुमान भन्दा ४२ प्रतिशत घटेर ठेक्का


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बेरुजु २२ करोड ९० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार पालिकाको बेरुजु २२ करोड ९० लाख ६६ हजार ७३८ रुपैयाँ पुगेको हो ।

आर्थिक वर्ष २०७९/८० सम्म २२ करोड ८७ लाख ४० हजार रुपैयाँ बेरुजु थियो । आर्थिक वर्ष २०८०/८१ मा ३३ लाख २६ हजार ७३८ रुपैयाँमात्र बेरुजु छ ।

यसवर्ष पदाधिकारी सुबिधामा नियमित तर्फ मात्र रु. ५२ लाख ८ हजार रुपैयाँ खर्च भएको छ जुन आन्तरिक आयको ६४.१९ प्रतिशत हो ।

पालिकाले कुल खर्चको तुलनामा ७४.८१ प्रतिशत चालु, २५.१९ प्रतिशत पूँजिगत निर्माण तर्फ खर्च भएको देखिन्छ । पालिकाले प्रशासनिक कार्यमा बढी खर्च गरेको छ ।

महालेखले प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरुपमा विकास निर्माणमा परिचालन गर्न सुझाव दिएको छ ।

बजेट सक्न असारमा हतारमा काम

सुनकोशी गाउँपालिकाले वर्षान्तको समयमा धेरै खर्च गरेको देखिएको छ । पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म खर्च नगर्ने र चौथौ त्रैमासमा मात्र ४९ प्रतिशत खर्च गर्ने गरेको देखिएको हो ।

पालिकाले पुँजीगत तर्फमात्र वार्षिक १२ करोड ४१ लाख ६६ हजार रुपैयाँ निकासा खर्च भएकोमा प्रथम त्रैमासिक निकासा खर्च ४६ लाख ४३ हजार रुपैयाँ (२.७२ प्रतिशत), दोस्रो त्रैमासिकमा ५० लाख ७७ हजार रुपैयाँ (२.९८ प्रतिशत) तेस्रो त्रैमासिकमा ३ करोड ८ लाख ५५ हजार रुपैयाँ (१८.०९ प्रतिशत) र चौथो त्रैमासमा ८ करोड ३५ लाख ९० हजार रुपैयाँ (४९.०२ प्रतिशत) खर्च गरेको देखिएको छ । यो अनुसार असार महिनामा मात्र ४ करोड ४२ लाख ५९ हजार रुपैयाँ (२५.९६ प्रतिशत) खर्च गरेको छ ।

पालिकाले बजेट सक्नको लागि वर्षान्तको समयमा हतारमा खर्च गरेको हो । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमासमेत असर पर्ने देखिएकोले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३५ बमोजिम त्रैमासिक रुपमा खर्च सन्तुलत हुने गरी कार्य गर्न महालेखाले सुझाव दिएको छ ।

वर्षान्तमा रकमान्तर

पालिकाले वर्षान्तमा शीर्षक नै परिवर्तन गरेर रकामान्तर गरेर पुँजीगत खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (३) अनुसार पालिकाले सभावाट स्वीकृत बजेट तथा कार्यविधिको परिधि भित्र रही प्रचलित कानून बमोजिम खर्च गर्न सकिने व्यवस्था छ ।

सोही ऐनको दफा ७९ मा कार्यपालिकाले स्वीकृत बजेटको अधिनमा रही कुनै शीर्षकबाट पूँजिगत शीर्षकमा पच्चिस प्रतिशत नबढाई रकमान्तर गर्न सक्ने व्यवस्था समेत छ । पालिकाले ऐन अनुसार स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको परिधि भित्र रहेर तोकिएको कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो ।

तर पालिकाले २०८० असारमा आर्थिक वर्ष २०८०।८१ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्य सञ्चालन नगरी कार्यपालिकाको निर्णयवाट १८ कार्यक्रम तथा योजनाको २७ लाख ९५ हजार रुपैयाँ बजेट घटाई विभिन्न ६३ योजना तथा कार्यक्रममा २२ लाख ८५ हजार बजेट वृद्धि गरी खर्च गरेको छ ।

यसरी शुरुमा स्वीकृत कार्यक्रममा खर्च नगरी वर्षान्तमा बजेट शिर्षक परिवर्तन गरी भुक्तानी खर्च लेख्ने कार्यलाई नियन्त्रण गर्नुपर्ने जनाएकाे छ ।

लागत अनुमानभन्दा ४२ प्रतिशत घटेर ठेक्का

पालिकाले परियोजनाको लागत अनुमानभन्दा ४२.३० प्रतिशतसम्म घटेर निर्माण ठेक्का लगाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ मा खुला रुपमा वोलपत्र आह्वान गरी खरिद गर्ने सम्वन्धी व्यवस्था बमोजिम पालिकाले वोलपत्र मार्फत प्रतिस्पर्धि आपूर्तिकर्ता छनौट गरी वार्षिक कार्यक्रम अनुसारका सडक निर्माणका योजना कार्यान्वयन गर्दै आएको छ ।

पालिकाले यस्ता योजना लागत अनुमान भन्दा ०.६३ देखि ४२.३० प्रतिशत सम्म घटीमा कबोल गरेर योजना कार्यान्वयन गराएको छ । पालिकाले मुल्कोट नाङ्गेडाँडा अमारे बाटो अपग्रेडिङ कामको लागि प्रशंसा विल्र्डस प्रा.लिं. लाई अनुमान लागतभन्दा ४२.३० प्रतिशतले घटेर निर्माण कार्य लगाएको हो ।

पालिकाको स्वीकृत नम्र्सका आधारमा तयार भएको लागत अनुमान भन्दा धेरै घटीमा सोही गुणस्तरको कार्य गर्न कबोल गरी अधिकांश योजना निर्माण सम्पन्न गरेर भुक्तानी फरफारक गरेको छ ।

पालिकाले निर्माण सामाग्री र निर्माण कार्यको गुणस्तर परीक्षण नगरी योजनाको भुक्तानी गरेको हो । लागत अनुमान भन्दा ०.६३ प्रतिशतदेखि ४२.३० प्रतिशतसम्म घटेर कार्य गर्दा कामको गुणस्तर तथा दिगोपनामा समेत ध्यान दिनुपर्ने महालेखको सुझाव छ ।

अभिलेख नराखी ढुङ्गा गिट्टी विक्री वितरण

पालिकाले अभिलेख नराखी ढुङ्गा, गिट्टी वालुवा संकलन तथा बिक्री वितरण गरेको पाइएको छ । ढुङगा गिट्टी संकलन तथा विक्रि वितरणमा कति घन फिट ढुङगा गिट्टी वालुवा संकलन तथा विक्रि वितरण भएको भन्ने एकिन परिमाण खुल्ने अभिलेख पालिकासँग छैन ।

संकलन घाटमा पालिकाले ७ जना व्यक्तिहरुलाई मासिक १५ हजार रुपैयाँका दरले असार मसान्तसम्म १२ लाख ५० हजार कर संकलन गर्न खर्च गरेको छ ।

पालिकाले यस बर्ष अमानतबाट टिपरको प्रति टिपर मुल्य अभिवृद्धि कर सहित ३ हजार रुपैयाँ, सानो मिनि टिपर प्रति टिपर मूल्य अभिवृद्धि कर सहित २ हजार रुपैयाँ, ९०९ फोरेर प्रति फोरेर मूल्य अभिवृद्धि कर सहित १ हजार ५०० रुपैयाँ र ट्याक्टर प्रति ट्याक्टर मूल्य अभिवृद्धि कर सहित एक हजार रुपैयाँका दर निर्धारण गरेको छ ।

पालिकाले अमानत बाट राजस्व संकलन गर्ने १ देखि ५५०० सम्म ११० थान रसिद छापेकोमा १ देखि ५३०० सम्म १०६ थान नगदी रसिद प्रयोग गरी मूल्य अभिबृद्धि कर सहित ८१ लाख ४९ हजार ८४५ रुपैयाँ संकलन गरेको छ ।

प्रति विद्यार्थी वार्षिक ४० हजार रुपैयाँ खर्च

सुनकोशी गाउँपालिकाको सामुदायिक विद्यालयमा वार्षिक प्रति विद्यार्थी लागत ४० हजार ७५० रुपैयाँ रहेको छ । प्रति विद्यार्थी लागत ४० हजार रुपैयाँभन्दा बढी भएपनि शैक्षिक गुणस्तर भने कमजोर देखिएको महालेखाले जनाएको छ ।

सामुदायिक विद्यालयबाट एसईईमा सहभागी २८९ जना विद्यार्थी मध्ये ३.६१ – ४.०० जि.पि.ए. ल्याउने ३ जना, ३.२१ – ३.६० जि.पि.ए. ल्याउने २६ जना र ३.२१ भन्दा कम जि.पि.ए. ल्याउने २०५ जना गरी २३४ जना विद्यार्थी उत्तिर्ण भएका थिए ।

पालिकाका ४१ वटा विद्यालयमा २९५ जना शिक्षक र ५ हजार ३२९ जना विद्यार्थी रहेकोमा औषत शिक्षक विद्यार्थी अनुपात १ः१८ रहेको छ । श्री ज्वालादेवी मा वि दुम्जाको शिक्षक विद्यार्थी अनुपात १ः३० अधिकतम र प्राथमिक विद्यालय नेपालथोकमा १ः९ रहेको छ । महालेखाले कार्यक्रम कार्यान्वयन पुस्तिका बमोजिम शिक्षक विद्यार्थी अनुपात मिलाउन सुझाव दिएको छ ।

पालिकाको औषत शिक्षक विद्यार्थी अनुपात १ः१८ रहेकोमा सार्वजनिक विद्यालय समायोजन एवं एकिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ र शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार संघीय कानूनले तोके बमोजिम विद्यालय समायोजन एवं शिक्षक दरबन्दी मिलानको काम गरेको छैन ।

आवश्यकता लाई विचार गरी प्रचलित कानून अनुसार विद्यालय समायोजन एवं शिक्षक दरबन्दी मिलानतर्फ सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

शिक्षा विभाग शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका अनुसार शिक्षक विद्यार्थी अनुपात हिमाली भेगमा १ः४०, पहाडी भेगमा १ः४५ र तराई भेगमा १ः५० रहने व्यवस्था छ ।