स्याङजा । वालिङ नगरपालिकाले आँधिखोलाबाट कानुनी प्रकृया पूरा गरी निर्माण सामग्री उत्खनन् गरिएको स्पष्ट पारेको छ।
आज नगर प्रमुख कृष्णा खाँणद्वारा जारी गरिएको विज्ञप्तिमा नगर क्षेत्र हुँदै बग्ने आँधिखोला नगरको निर्माण कार्यका लागि मुख्य स्रोत भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको आधारमा सो कार्यलाई अनुमति दिइएको जानकारी दिएको हो।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, आँधिखोलाको सुकौंदी पुलदेखि बायाँखोला दोभान बाह्रविसेसम्मको खण्डमा ठेक्का प्रक्रिया नलागेपछि नगर गौरवका योजनाहरू सञ्चालन गर्न आवश्यक निर्माण सामग्री आपूर्ति गर्न निर्माण व्यवसायीहरूले माग गरेपछि २०८१ सालको माघ १३ गते बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कानुनी प्रकृया पूरा गरी अनुमति दिने निर्णय गरेको थियो।
त्यसपछिको २०८१ फागुन २६ गतेको कार्यपालिकाको बैठकबाट मेशिन प्रयोग गरी उत्खनन् गर्न जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति माग गर्ने निर्णय भएको थियो। त्यसअनुसार २०८२ साल जेठ ९ गते स्याङजाका प्रमुख जिल्ला अधिकारी तथा प्राविधिक टोलीले स्थल निरीक्षण गरी जेठ १३ मा प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनको आधारमा २५०० घनमिटर निर्माण सामग्री उत्खनन् गर्न अनुमति दिइएको र २०८२ जेठ १४ गतेदेखि उत्खनन् प्रक्रिया सुरू भएको नगरपालिकाले जानकारी दिएको छ।
पुनः जेठ २९ मा जिल्ला अनुगमन समितिको टोलीले अनुगमन गर्दा ३०७३ घनमिटर उत्खनन् भएको पाइएपछि सोही दिन बसेको राजस्व परामर्श समितिको बैठकले बढी उत्खनन् भएको सामग्रीलाई जरिवाना सहित थप राजस्व लिई ढुवानी गर्न कार्यादेश दिएको पनि विज्ञप्तिमा उल्लेख छ। सबै प्रक्रिया नियमसम्मत भएको स्पष्ट पारिएको छ र नगरवासीलाई अनावश्यक भ्रममा नपर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्