चीनको तिब्बतमा सम्भावित भारी वर्षाका कारण सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध


काठमाडाैँ । चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदी आसपासको क्षेत्रमा आगामी असार ३ गतेदेखि ७ गते (जुन १७–२१, २०२५) सम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानसहित प्राप्त सूचनाका आधारमा सिन्धुपाल्चोक जिल्लाका नदी किनार क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले आग्रह गरेको छ।

नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयको मातहतमा रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जारी गरेको सूचनामा चीनको प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार भोटेकोशी नदीको तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। यसले भोटेकोशी तथा सुनकोशी नदी आसपासका क्षेत्रहरूमा बाढी तथा पहिरोको जोखिम निम्त्याउन सक्ने भएकाले स्थानीयवासीलाई पूर्व सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनार क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सजग रहन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन समेत सूचनामा भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।