काठमाडाैँ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना बचतकर्ता र सञ्चालकहरूको गरी १४ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेका फरार प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीको टोलीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी हिजाे नेपाल ल्याएको हो। उनी अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन्।
यसअघि भण्डारीविरुद्ध सन् २०२४ अक्टोबर २९ (तदनुसार २०८१ साल कार्तिक १३ गते) मा अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन मार्फत रेड नोटिस जारी गरिएको थियो। लामो समयदेखि विदेशमा लुकिरहेका भण्डारीलाई प्रहरीको सक्रियतामा पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ।
४२ वर्षीय भण्डारी बर्दिया जिल्ला, साबिक मोतिपुर गाविस वडा नम्बर ६ हालको बाँसगढी नगरपालिका वडा नम्बर ७ का बासिन्दा हुन्। भण्डारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ अन्तर्गत ‘ठगी सम्बन्धी कसूर’ र परिच्छेद २५ को दफा २७६ अन्तर्गत ‘कीर्ते गर्न नहुने कसूर’ मा अनुसन्धान भइरहेको छ।
सहकारीमा संलग्न रहेर बचतकर्ताको करोडौं रुपैयाँ ठगी गरी फरार रहेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्