काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले स्याङ्जाको आँधिखोला नदी दोहनविरुद्ध आवाज उठाउदा नेतामाथि भएको आक्रमणको विषय आजकाे प्रतिनिधिसभाको बैठकमा उठाएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–१० को नदी दोहन रोक्न माग गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेका रास्वपाका केन्द्रीय सदस्य मेघा आले र केन्द्रीय विभागीय सदस्य दिनकर नेपालमाथि भएको आक्रमणलाई सांसद ढकालले लोकतन्त्र र सुशासनमाथिको खुला प्रहार रहेको बताए ।
उनले भने, “भुइँ मान्छेका मुद्दा उठाउने नेताहरूमाथि सरकारकै संरक्षणमा रहेका स्थानीय प्रतिनिधिहरूले आक्रमण गर्छन्, यो कस्तो सुशासनको भाषण हो ?”
उनले थपे, “२३ दिनदेखि नदी जोगाउने आन्दोलन गरिरहेका नेतामाथि कुटपिट हुन्छ, हात भाँचिन्छ, सरकार चुप लागेर बस्छ। हामी भन्छौं, भ्रष्टाचारविरुद्ध, प्राकृतिक स्रोतको दोहनविरुद्ध, मानव तस्करविरुद्ध आवाज उठाउनु अपराध हो भने संसद, सरकार र कानुनको औचित्य के रहन्छ ?”
सांसद ढकालले दोषी वडाध्यक्षमाथि अविलम्ब कारबाहीको माग गर्दै संसदमार्फत सरकारलाई कठोर चेतावनीसमेत दिएका छन्। रास्वपाले उक्त आक्रमणलाई पूर्वनियोजित र आपराधिक भन्दै तीव्र विरोध जनाएको छ। पार्टीले दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइते नेताहरूको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने पनि जनाएको छ।
प्रतिक्रिया दिनुहोस्