काठमाडाैँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दुई अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योग ‘फर्स्ट च्वाइस फुड’ सञ्चालनमा आएको छ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले उक्त उद्योग स्थापना गरेका हुन्।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘फर्स्ट च्वाइस फुड’ को उत्पादन सार्वजनिक गरेका हुन् । उक्त अवसरमा उनले नेपालमा उत्पादनमूलक उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न सकिने बताए ।
व्यवसायी पौडेलका अनुसार उद्योग आलुजन्य परिकार उत्पादनमा केन्द्रित रहनेछ र हाल वर्षको दुई हजार मेट्रिक टन फ्रेन्च फ्राई उत्पादन भइरहेको छ। उत्पादन मात्रा आगामी वर्षहरूमा क्रमशः वृद्धि गरिने लक्ष्य रहेको पौडेलले जानकारी दिए ।
पाँच विघा क्षेत्रफलमा फैलिएको यो उद्योगसँग हाल १० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध छन्। “उद्योगले किसानको उत्पादन किनिरहेको छ र हाल १९ जिल्लाका किसानहरूसँग सहकार्य भइरहेको छ,”उनले भने। हाल उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी २०० जनासम्म रोजगारी सिर्जना भएको छ।
नेपालमा फ्रेन्च फ्राईको आयात घटाउने र देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योगले अमेरिका, दुबई, साउदी अरब लगायत तेस्रो मुलुकमा निर्यात गर्ने तयारी गरिरहेको छ। हाल उद्योगले भारतमा पनि निर्यात गरिरहेको पौडेलले जानकारी दिए ।
फर्स्ट च्वाइस फुडका हाल काठमाडौँ, धरान, नेपालगञ्ज, दाङलगायत पाँच स्थानमा डिलर छन् भने देशभर ४ सयभन्दा बढी रेष्टुरेन्टले यो ब्रान्डको फ्रेन्च फ्राई प्रयोग गरिरहेका छन्।
कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले विदेशबाट रित्तो हात स्वदेश फर्किएर उद्योग सञ्चालन गरेका कृष्ण पौडेलको प्रयासलाई प्रेरणादायक उदाहरणका रूपमा प्रस्तुत गरे । “निष्ठा, योजना र मेहनतका साथ लागेमा देशमै सम्भावना छ, कृष्ण पौडेलजीले देखाउनु भएको छ,” उनले भने ।
त्यस्तै, कार्यक्रमका अर्का वक्ता सांसद वासुदेव घिमिरेले कृषिमा बीउ वृद्धिका कार्यक्रमलाई सशक्त बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखे। “बीउको गुणस्तर सुधार नगरी उत्पादनमा अपेक्षित वृद्धि हुन सक्दैन,” उनले भने, “बीउ वृद्धिमा सरकारको पूर्ण सहयोग आवश्यक छ। सामान्य बीमा वा अनुदान मात्रै पर्याप्त हुँदैन, दीर्घकालीन रणनीतिका साथ लाग्नुपर्छ।”
सांसद घिमिरेले कृषि र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारको भरपूर सहयोग आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्