काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, उद्यम र सामाजिक समावेशीतामा विशेष ध्यान दिएको छ। गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनमा अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुआयामिक लक्ष्यसहित अघि सारिएको बताइएकाे छ ।
खानेपानीको शुद्धता र दिगोपनाका लागि पानी परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ। साथै, पानीका स्रोत र मुहानको संरक्षणका लागि भरणपोखरी निर्माण तथा वृक्षारोपण अभियान चलाइनेछ। सफल आमा समूहको मोडलमा खानेपानी उपभोक्ता समितिहरूलाई सहनिर्माताको रूपमा विकास गरिने योजना पनि प्रस्तुत गरिएको छ।
शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, अनलाइन शिक्षण प्रणाली र डिजिटल उपकरणको प्रयोग गर्दै विद्यार्थीहरूको सिर्जनात्मकता र नवप्रवर्तन क्षमताको विकास गर्ने ‘ब्रेन्स फर टुमारो’ कार्यक्रम सञ्चालन गरिने छ। परम्परागत शिक्षण प्रणाली पर्याप्त नभएको सन्दर्भमा आधुनिक प्रविधिसँग समायोजन गर्दै शिक्षण गुणस्तर सुधारमा बल दिइएको छ। हरेक विद्यालयमा सूचना तथा गुनासो अधिकारीको व्यवस्था गरिनेछ भने विद्यालयको सामाजिक परीक्षणमा स्थानीय जनप्रतिनिधिको सहभागिता अनिवार्य गरिने जनाइएको छ।
स्वास्थ्य क्षेत्रमा ‘घर–घरमा स्वास्थ्य सेवा’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै पहुँच, गुणस्तर र सेवा विस्तारको तयारी गरिएको बताइएकाे छ। गाउँपालिकाबाहिर उपचारको आवश्यकता परेमा पनि सेवा सहजीकरण सम्पर्क व्यक्तिमार्फत सहज सेवा प्रवाहको अनुभूति दिलाइने जनाइएको छ। आँखा उपचार केन्द्रको सेवा पनि विस्तार गरिने छ भने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको मूल्याङ्कन कार्यक्षमताका आधारमा हुने नीति लिइएको छ।
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न वडा नम्बर ५ स्थित थाप्ले मैदानमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने बताइएकाे छ। यसले खेलकुदको विकाससँगै पर्यटन प्रवर्द्धनमा योगदान दिने विश्वास गरिएको छ। रोजगार अभिवृद्धिका लागि हुँगा कटिङ उद्योगलाई व्यवस्थित बनाइने र औद्योगिक ग्राममा रोजगार सिर्जना गर्न प्रचारात्मक नीति अपनाइने पालिकाले जनाएकाे छ । साथै, पहिलोपटक गाउँपालिकामा खनिज स्रोत पहिचान गर्न अध्ययन सुरू गरिने भएको छ।
पूर्वाधार क्षेत्रमा हालसम्म १० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा थप १२.५ किलोमिटर सडक निर्माणको कार्यान्वयन भइरहेको छ। वडाहरूलाई पालिका केन्द्रसँग कालोपत्रे सडकमार्फत जोड्ने कार्य तीव्र पारिने छ। कुश्माबाट बाग्लुङ हुँदै मुक्तिनाथसम्म पुग्ने छोटो दूरीको मार्गलाई धार्मिक पर्यटन मार्गका रूपमा विकास गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग समन्वय गरिने उल्लेख गरिएकाे छ ।
हरेक योजनाको मर्मतका लागि स्वीकृत बजेटको एक प्रतिशत रकम मर्मत सम्भार कोषमा स्वतः विनियोजन गरिने छ। साथै, आयोजनाबैंक प्रणालीलाई कार्यान्वयनमा ल्याएर औचित्य पुष्टि नभएका योजनाहरूलाई निरुत्साहित गरिने छ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनाहरूको सम्झौता वडा कार्यालयबाट गरिने व्यवस्था गरिने उल्लेख गरिएकाे छ ।
गाउँपालिकाले सार्वजनिक निजी साझेदारीलाई प्रवर्द्धन गर्दै फोहर व्यवस्थापनमा अन्तर–स्थानीय तह सहकार्यलाई प्राथमिकता दिने जनाएको छ। सीपमूलक कार्यक्रम, स्थानीय रोजगार र दलित उत्थान कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने छ। बालमैत्री, पोषणमैत्री र अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण प्रणाली सहज बनाउने र लैङ्गिक हिंसासहित सामाजिक कुरीति अन्त्य गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना पालिकाले लिएकाे छ ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरिने जनाइएको छ। गाउँपालिकाले कर प्रणाली सुधार गर्दै करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिएको छ। त्यस्तै प्रशासनिक संरचनालाई दक्ष, पारदर्शी र नतिजामूलक बनाउँदै नागरिकमैत्री सेवा प्रवाहमा सुधार गर्ने अठोट पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्