काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा विरोध प्रदर्शन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पहिरनप्रति चासो देखाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठक सुरू हुनुअघि रास्वपाका सांसदहरू कालो ड्रेस र नीलो रिबनसहित संसदमा देखिएपछि प्रधानमन्त्री ओलीले त्यसबारे जिज्ञासा राखेका थिए । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीविरुद्धको विरोधस्वरूप यस्तो पहिरन लगाइएको जानकारी प्रधानमन्त्रीलाई गराएको सांसद मनिष झाले जानकारी दिए ।
सांसद झाले भने, ‘‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ ।’’
उनले आन्दोलनको सन्देश अझ स्पष्ट पार्न सबै सांसदहरूले कालो वस्त्र धारण गरेको जानकारी दिए । आन्दोलन चलेको २२ दिनसम्म पनि सरकारबाट कुनै औपचारिक प्रतिक्रिया नआएकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘‘देशको अभिभावक प्रधानमन्त्रीज्युसँग आज संसदमै जम्काभेट भयो । उहाँले किन यस्तो ड्रेस भनेर सोध्नुभयो । हामीले मानव तस्करविरुद्धको विरोधमा हो भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’
सांसद झाका अनुसार सरकारको चासो अभावकै कारण रास्वपाका सांसदहरूले कालो वस्त्रमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस्