काठमाडौँ । जिल्ला पर्साको पोखरीया नगरपालिकामा (हाल बहुदरमाई नगरपालिका) कार्यरत रहँदा बिभिन्न योजनाको स्वीकृति तथा कर्मचारी नियुक्तिमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना पूर्वकर्मचारीलाई नियन्त्रणमा लिएको छ।
आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोक र वडा नम्बर ३ प्रगतिनगरबाट पक्राउ गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेकासँगै उनीहरूको साथबाट चार थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ। यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत दुई थान मोबाइल संकलन गरिएको छ।
बरामद गरिएका उपकरणको डिजिटल परीक्षणसहित थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्