काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नविल बैंकको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौँमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आर्थिक तथा वित्तीय क्षेत्र अति संवेदनशील रहेकाले यस विषयमा लेखिने समाचारहरू सत्य, तथ्य र सही सूचनामा आधारित हुनुपर्ने आवश्यकता औंल्याए । “समाजमा गलत सूचना सम्प्रेषण नगरी, सत्य सूचना सम्प्रेषण गर्नु अहिलेको प्रमुख चुनौती हो,” उनले भने, “गलत सूचना फैलिएमा त्यसको असर छिटो देखिने भएकाले विशेष सावधानी जरुरी छ ।”
डेपुटी गभर्नर मिश्रले आजको युगमा सही सूचना प्रवाहको खाँचो झनै बढेको बताउँदै आर्थिक पत्रकारितामा देखिएको फरकपन सकारात्मक भएको टिप्पणी गरे ।
तालिमजस्ता कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याएको भन्दै उनले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने धारणा राखे । “नयाँ तथ्याङ्क र प्रविधिका कारण आर्थिक पत्रकारितामा निरन्तर अध्ययन र अपडेट जरुरी हुन्छ,” उनले भने ।
उनले कतिपय आर्थिक विषयवस्तुहरू समाचारमा नआएकोप्रति चिन्ता व्यक्त गरे । “जस्तै, राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने घोषणा गर्छ तर बिडको क्रममा ७० अर्ब मात्र उठाउँछ,” उनले भने, “तर त्यो अपडेट समाचार भने आउँदैन । यो एउटा सानो उदाहरण मात्र हो ।” उनले आर्थिक तथा वित्तीय क्षेत्रको जानकारी सम्प्रेषणमा राष्ट्र बैंक पत्रकारहरूसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्