सांसद श्रेष्ठको चेतावनीः जनतालाई ऋणको भारी बोकाएर सत्ता जोगाउने दिवा सपना नदेख्नुस्


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनप्रति आपत्ति जनाउँदै सत्तारूढ पक्षलाई जनताको ऋणको भारमा राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले १६५ वटै निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको सम्मान हुनुपर्नेमा जोड दिए। उनले भने, “राज्यको स्रोत र साधनमा सबैको समानुपातिक अधिकार सुनिश्चित हुनुपर्छ, न कि केही नेताका निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिनु उचित हुन्छ।”

श्रेष्ठले बजेट बनाउँदा मन्त्रीहरूबिचसमेत आफ्नो क्षेत्रका लागि बजेट तान्ने होडबाजी भएको आरोप लगाउँदै भने, “यसरी मन्त्रालय–मन्त्रालयकै प्रतिस्पर्धा हुँदा बजेटप्रति जनविश्वास घटेको छ। सत्ता पक्षका सांसदहरूले नै बजेटप्रति असन्तुष्टि जनाएका छन् भने, त्यो बजेट कत्तिको विश्वसनीय होला ?”

उनले मधेस प्रदेशप्रति बजेटमा गरिएको उपेक्षा र ठूला नेताहरूले आफू अनुकूलका क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको प्रवृत्ति दोहोरिएकोप्रति आपत्ति जनाए ।

सांसद श्रेष्ठले दैलेखमा गरिएको मिथेन ग्यास अन्वेषणबाट प्राप्त प्रारम्भिक प्रतिवेदनको प्रशंसा गर्दै राज्यले अब कनिका छरेजसरी बजेट बाँड्नेु प्रवृत्तिको अन्त्य गरी परिणाममुखी परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे ।