काठमाडाैँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संविधान बनाएको १० वर्ष बितिसकेकोले अब समीक्षा गर्ने समय आएको बताएका छन् ।
शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले संघीयताको कार्यान्वयनमा र बजेट कार्यान्वयनमा भएका कमीकमजोरीसँगै राम्रा पक्षका विषयमा समीक्षा गर्ने समय आएको बताएका हुन् ।
उनले नेपालको संविधान उत्कृष्ट बनाएको दाबी गरिरहेपनि अलिकति इमोशनल र दवावबाट प्रेरित हुनुपरेको स्मरण गरे। तीन तहको सरकारले काम कसरी गरिरहेका छन्, कमी कहाँ छ ? त्यसबारेमा सोच्नुपर्ने समय आएको बताउँदै नेपालको जस्तो भूगोल भएको मुलुकमा ७ सय ५३ स्थानीय तह आवश्यक नभएको र करिब ५ सय स्थानीय तह बनाउनुपर्नेमा जोड दिए।
उनले स्थानीय तहको संख्या घटाएर जनशक्तिसँगै माथिल्लो तहका कर्मचारी र बजेट राम्रोसँग दिएर जवाफदेही बनाउनुपर्ने स्पष्ट पारे । केन्द्रले राष्ट्रिय गौरबका १० देखि १५ वटा योजना राखेर बाँकी स्थानीय तह र प्रदेशमा दिनुपर्नेमा उनको जोड थियो ।
उनले जनतामा निराशा र आक्रोश बढ्दै गइरहेको अवस्थामा गलत तत्वहरूले उपयोग गरिरहेकोले त्यो स्थिति अन्त्य हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्