निजी क्षेत्रले व्यापार गर्न सक्ने कानूनी व्यवस्था गरेर मात्रै ‘टेक एण्ड पे’मा जानुपर्छः सांसद बस्नेत


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताएका हुन् । उनले सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने बताए। 

“सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । सरकार विधेयक र कानून निर्माणप्रति त्यति जिम्मेवार र जवाफदेही भइरहेको जस्तो त लागिरहेको छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ,” उनले भने ।

सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताए ।