काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाईको क्षेत्र उपेक्षित भएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले सरसफाईको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरूले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताएका हुन् । मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभुत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पु¥याउने सरकारको लक्ष्य रहेको समेत बताए । यद्यपि बजेटमा व्यवस्थापन गर्न नसकिए लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
उनले अगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयले सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरे । संघ सरकारले बजेट पठाउँदा संघीयता कार्यान्वयनको विषयलाई पनि ख्याल गर्न जरुरी रहेको उल्लेख उहाँले गर्दै सोही अनुरूप बजेट विनियोजन गरिएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्