सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिको निर्देशन


काठमाडाैँ । नेपालका सुनचाँदी व्यवसायीहरुको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरुको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धिकरण गर्नुपर्ने बताए । उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीहरुको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताए ।

समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।