इजरायलबाट फर्कन ८८५ नेपालीको गराए नाम दर्ता, नेपालीको सुरक्षा सरकारको प्राथमिकमा रहेको मन्त्री राणाको भनाइ


काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल–इरानबिचको युद्धका कारण हालसम्म ८ सय ८५ नेपाली नागरिकले नेपाल फर्कन नाम दर्ता गराइसकेको जानकारी दिएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले युद्धग्रस्त क्षेत्रबाट इच्छुक नेपालीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्काउने प्रयासस्वरूप अनलाइन पोर्टलमार्फत विवरण संकलन थालेको बताइन् ।

उनले इजरायल–इरानबिचको द्वन्द्वका कारण ती देशहरूमा तथा आसपास रहेका नेपालीहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारिन् । “१३ जुनदेखि नै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर स्थिति गम्भीर रूपमा लिएको छ,” उनले भनिन्, “१५ जुनमा एड्भाइजरी जारी गरेर नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिसकेका छौं।”

परराष्ट्रमन्त्रीले आफू नियमित रूपमा सम्बन्धित मुलुकका राजदूतहरूसँग सम्पर्कमा रहेर त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेको र अन्य मुलुकहरूमा रहेका राजदूतहरूसँग पनि सुरक्षा विषयमा छलफल भइरहेकाले जानकारी दिइन् ।

सरकारले १७ जुनदेखि खोलेको अनलाइन पोर्टलमार्फत हालसम्म ८८५ नेपालीले फर्कनका लागि नाम दर्ता गराइसकेको जानकारी दिँदै उनले अबको केही दिनभित्रै ‘श्रम संसार’ मोबाइल एपलाई ‘नागरिक एप’ सँग समायोजन गरेर सार्वजनिक गर्ने तयारीमा रहेकाे बताइन्। उनले विश्वभर छरिएर रहेका नेपाली नागरिकलाई लक्षित गरी उक्त एपमार्फत पहुँच सहज हुने विश्वाससमेत व्यक्त गरिन् ।

उनले गैरकानुनी रूपमा विदेशमा कार्यरत नेपालीहरूलाई वैधानिक प्रक्रियामा ल्याउनका लागि कार्यदल गठन गरेर काम अगाडि बढाइएको बताइन्। भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार भइसकेको जानकारीसमेत उनले संसदलाई दिइन् ।

इजरायल–गाजा युद्धका क्रममा हराएका नेपाली विद्यार्थी वीपिन जोशीको अवस्था बुझ्न र उनको रिहाइका लागि पनि सरकार निरन्तर प्रयासरत रहेको मन्त्री राणाको भनाइ छ। “