काठमाडौँ । देशभर डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेको सन्दर्भमा सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले डेंगुले महामारीको रूप लिनुअघि नै नियन्त्रणका लागि विशेष पहल आवश्यक रहेको भन्दै तीनै तहका सरकारसँगै समुदायस्तरको समन्वयमा प्रभावकारी अभियान सञ्चालन गर्न आग्रह गरे।
उनले स्थानीय स्वास्थ्य संस्था, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी तथा टोल विकास समिति र आम नागरिकको सहभागिता सुनिश्चित गरी जनस्वास्थ्य विभागको निगरानीमा रोकथाम कार्यक्रम तीव्र बनाउन माग गरे ।
सांसद पौडेलका अनुसार २०८१ पुस १८ यता हालसम्म १ हजार ४ सय ३ जना डेंगु संक्रमित पुष्टि भएका छन् भने संक्रमण ७३ जिल्लामा फैलिइसकेको छ। उनले २०८० सालमा झण्डै ५२ हजारभन्दा बढी व्यक्ति डेंगु संक्रमित भएको र त्यस वर्ष २० जनाले ज्यान गुमाएको तथ्य स्मरण गराउँदै सन् २०७६/७७ मा महामारीकै रूप लिएको डेंगुको अवस्था फेरि दोहोरिन सक्ने सम्भावना औंल्याए ।
उनले भने, “संक्रमण हरेक दिन बढ्दो क्रममा छ। एक दुई जना दैनिक उपचारका लागि आउनुका साथै धेरै जिल्लामा डेंगुको प्रभाव देखिएको छ। यस्तोमा सरकारले समयमै कदम चाल्नुपर्छ।”
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले पनि डेंगु नियन्त्रणका लागि प्रभावकारी रणनीति अपनाउन सरकारलाई आग्रह गरे । उनले डेंगु संक्रमण देशका ७३ जिल्लामा फैलिएको र संक्रमितको संख्या १४०३ पुगेको पुष्टि गर्दै महामारीको रुप लिनुअघि नै कडा र प्रभावकारी नियन्त्रण आवश्यक रहेको उल्लेख गरे ।
सांसद बोहोराले राजधानी काठमाडौंमा मात्रै १५६ जना संक्रमित पुष्टि भएको र गत वर्ष करिब ३४ हजार संक्रमितमध्ये १३ जनाले ज्यान गुमाएको तथ्यसहित डेंगु प्रकोपको गम्भीरता प्रस्तुत गरे ।
“डेंगु संक्रमण देशका दुर्गम जिल्ला मनाङ, हुम्ला, डोल्पा र रसुवा समेतमा फैलिएको छ। यस्तो अवस्थामा सरकारले ढिलासुस्ती नगरी व्यापक रोकथाम र उपचार व्यवस्था सुनिश्चित गर्नुपर्ने हुन्छ,” उनले भने ।
सांसदहरूले प्रस्तुत गरेका तथ्य र सुझावले डेंगु संक्रमणको नियन्त्रण तत्कालीन राष्ट्रिय प्राथमिकताको विषय हुनुपर्ने स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्