काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकबाट आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक पारित गरिने भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले आजको बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने कार्यक्रम रहेको छ।
विनियोजन विधेयक पारित गर्नु अघि आजको बैठकमा विभिन्न मन्त्रालय र कार्यालयहरूको शीर्षकमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि छ ।
ती मन्त्रालय तथा कार्यालयहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय रहेका छन्।
यस्तै, बैठकमा विभिन्न सांसदहरूद्वारा प्रस्तुत खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने छन्। सांसद अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले खर्च कटौतीका लागि आ-आफ्ना प्रस्तावहरू दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्