काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएको रासायनिक मल आपूर्तिको लक्ष्य बराबरको टेन्डर सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ९ गतेसम्म ५ लाख ५० हजार मेट्रिक टन मलको टेन्डर प्रक्रिया पूरा भइसकेको छ । यो परिमाण यसै वर्षको निर्धारित वार्षिक लक्ष्य बराबर हो ।
यसका लागि सरकारले कुल २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । टेन्डरअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डिएपी र पोटास मलको आपूर्ति प्रक्रिया अगाडि बढाइएको थियाे ।
हालसम्म आपूर्ति भएको मलको विवरणअनुसार युरिया २ लाख २५ हजार ९७३.५ मेट्रिक टन, डिएपी १ लाख २० हजार २०६.१ मेट्रिक टन र पोटास १५ हजार २६५.२ मेट्रिक टन आपूर्ति भइसकेको छ । कम्पनीगत रूपमा हेर्दा कृषि सामग्री कम्पनीले २ लाख ९७ हजार ४३७ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ६४ हजार ७.८ मेट्रिक टन मल आपूर्ति गरेका छन् ।
यस्तै, अहिले सम्मको मौज्दात अवस्था पनि उल्लेख्य रहेको छ । युरिया २८ हजार २१२.२ मेट्रिक टन, डिएपी २९ हजार २७६.१५ मेट्रिक टन र पोटास ८ हजार ९४५.५५ मेट्रिक टन मौज्दात रहेको छ । कुल मौज्दात ६६ हजार ४३३.९ मेट्रिक टन पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
विक्रीको हिसाबले हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत ३ लाख ९८ हजार ५११.१ मेट्रिक टन मल बिक्री भइसकेको छ, जसमा युरिया २ लाख ४२ हजार ९८३.८, डिएपी १ लाख ४० हजार ४४१.७ र पोटास १५ हजार ८५.६ मेट्रिक टन रहेका छन् ।
यससँगै थप युरिया मल आयातको प्रक्रियामा पनि तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ्गले संयुक्तरूपमा ३४ हजार मेट्रिक टन युरिया कोलकत्तामा ल्याइसकेका छन्, जुन नेपाल प्रवेशको चरणमा छ । यस्तै, कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट लोडिङ्ग भई कोलकत्तामा आइपुगेको छ भने साल्ट ट्रेडिङ्गले ल्याउने २२ हजार मेट्रिक टन युरिया पनि लोडिङ्ग भई कोलकत्ता आउँदैछ ।
मन्त्रालयका अनुसार कृषकलाई मल अभाव नहोस् भन्ने उद्देश्यका साथ समयमै खरिद, आपूर्ति र वितरणमा जोड दिइएको छ । मौज्दात, विक्री र आपूर्तिको प्रवृत्ति हेर्दा यो वर्ष कृषकहरूलाई मल अभावको समस्या नपर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मलमा २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्