काठमाडाैँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको पुन अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो ।
पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो ।
पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो । भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै छन्।
असार ८ गते भैरहवाबाट पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उनी ४ देखि सडकमै दिन–रात बिताउन बाध्य भएका छन् । दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले रोकेपछि उनी सडकमै समय बिताइ रहेका छन् । उनले आफूहरूले प्रशासनलाई आग्रह गरे पनि प्रशासनले नसुनेको दुखेसो गरे ।
“हामी यो ठाउँमा आएको ४ दिन भयो । वीरगन्जबाट एक गते लोड गरेर भैरहवा हुँदै यो ठाउँमा आएर बसेको ४ दिन भयो । ४ दिन दुम्कीबास पारी नै खडा भएर बसियो । आज १० दिन भयो । १० दिनमा कति दुःख कति, सुख, कति गर्मी भोग्या होला । प्रशासनलाई भन्यौँ, प्रशासनले सुनेन । आज ४ दिन भइसक्यो घाम लागेर बसेको । प्रशासनले चाह्यो भने सबै पुल बनाएर आवतजावत गर्न सकिन्थ्यो । प्रशासनले गाउँलाई भनेको भए सबै गाडी पार भइसक्थ्यो,”उनले भने ।
भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश व्यक्त गरे ।उनले थोरै गल्ती भए पनि यातायात चालकले टिपाइ खानुपर्ने, भोकै बस्ने भन्दै गुनासो गरे ।उनले चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत बताए ।
ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुवोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन्। चर्को गर्मीमा ४ दिनदेखि बर्दघाटमा बिताउनुपर्दा उनी सरकारसँग रुष्ट मात्रै होइन, प्रहरीले माथिको आदेश छैन भनेर रोक्दा आक्रोशित भएका छन् । दश चक्के बसले आवतजावत गर्न पाउँदा आफूहरूले नपाएको बताए। उनले ट्रक भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्न समेत नसकिएको गुनासो गरे ।
बर्दघाटमै रोकिएका अर्का ट्रक चालक ज्ञानबहादुर कार्कीले आफूहरूले कल्पना भन्दा बाहिरको सास्ती पाएको गुनासो गरे । उनले यो सरकारको चरम लापरबाही भएको भन्दै आपत्ति जनाए । उनले सरकारले तदारुकता नदेखाउँदै आफूजस्तै सयौँ चालक र सर्वसाधारणहरूले सास्ती खेप्नुपरेको बताए ।
उनीहरूजस्तै सयौँ चालकहरू अहिले सडकमै दिनरात कटाइरहेका छन् । सयौँ ट्रकहरूलाई सडकमै राखेर उहाँले सास्ती खेप्नुपरेको हो । कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौँ जान समेत बाध्य भएका छन् ।
पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । बुटवल–नारायणगढ खण्डको दुम्कीवासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्