काठमाडाैँ । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले जानकारी गराएका हुन् ।
उनका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले बताए ।
निर्देशक जोशीकाअनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०÷४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको उनले स्पष्ट पारे ।
जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्