काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्ने कार्यसूची रहेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजको बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । दुबै विधेयक बजेट कार्यान्वयनका लागि आवश्यक भएकाले तीलाई आजकै बैठकबाट पारित गर्ने तयारी गरिएको हो।
यससँगै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ पनि आजको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ। संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार विधेयकमाथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ।
साथै, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा स्पेन भ्रमणसम्बन्धी जानकारी संसदमा प्रस्तुत गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको आयोजनामा हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै स्पेन प्रस्थान गर्न लागेका छन् ।
आजको संसद बैठकले बजेट पारित गर्ने प्रक्रिया तिव्र बनाउँदै अन्य संवैधानिक विधेयकहरूलाई पनि प्राथमिकतामा राख्न लागेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्