वैदेशिक रोजगार बिमाबाट जीवन बिमा कम्पनीले गरे ३ अर्ब १९ करोड रुपैयाँ आम्दानी, कसको कति ?


काठमाडौँ । वैदेशिक रोजगारी बिमा व्यवसायबाट जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठसम्म) ३ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क आर्जन गरेका छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ ओटा जीवन बिमा कम्पनी र ३ ओटा लघु जीवन बिमा कम्पनीले २५ लाख ४० हजार ९५८ ओटा वैदेशिक रोजगार बिमालेख बिक्री गरी कुल ३ अर्ब १९ करोड २६ लाख ८८ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन्।

जसमध्ये सन नेपाल लाइफले सबैभन्दा धेरै ९८ करोड ६२ लाख ६७ हजार रुपैयाँ बिमाशुल्क संकलन गर्दै अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा एसियन लाइफ रहेको छ जसले ८९ करोड ५८ लाख ५० हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेपाल लाइफले २२ करोड ६५ लाख ५५ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको छ।

त्यस्तै आइएमई लाइफले २२ करोड ५० लाख ८७ हजार संकलन गर्दा नेसनल लाइफले १८ करोड ३४ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । त्यसैगरि सानिमा रिलायन्स लाइफले १५ करोड ७६ लाख ९१ हजार, रिलायबल नेपाल लाइफले १० करोड ६५ लाख, सूर्यज्योति लाइफले ११ करोड १ लाख ५५ हजार, सिटिजन लाइफले १३ करोड ६९ लाख ५८ हजार , प्रभु महालक्ष्मी लाइफले १२ करोड ६१ लाख १९ हजार र हिमालयन लाइफले ८९ लाख ८० हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।

यता लघु जीवन बिमा कम्पनीहरू मध्ये लिबर्टी माइक्रो लाइफले २ करोड ३८ लाख ७५ हजार , गार्डियन माइक्रो लाइफले ४० लाख ३९ हजार र क्रेस्ट माइक्रो लाइफले ११ लाख २४ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।