काठमाडौँ । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडा अटोमोवाइल्स एसाेसिएसन अफ नेपालबिच आज छलफल भएको छ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटघाट गर्दै अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विचारविमर्श गरेको हो।
छलफलको क्रममा अध्यक्ष चौधरीले विभागले तयार गरिरहेको ‘सवारी साधन आयात, उत्पादन तथा जडान निर्देशिका २०८२’ का सन्दर्भमा चासो व्यक्त गर्दै त्यसमा समेटिएका बुँदाहरूबारे थप छलफल आवश्यक रहेको धारणा राखे। उनले नाडा र विभागबिच सहकार्यमा आधारित छलफलमार्फत निर्देशिका यथार्थपरक र व्यावहारिक बनाउनुपर्ने आवश्यकता औंल्याए।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले पनि प्रस्तावित निर्देशिकामा उल्लेख गरिएका कतिपय बुँदाहरूमा स्पष्टता ल्याउन आवश्यक रहेको बताउँदै, तिनीहरूलाई सिलसिलेवार छलफलमार्फत पुनरावलोकन गर्नुपर्ने बताए।
महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित र सही कार्य गर्नेहरूलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्दै नेपालमै ब्याट्री उद्योगहरू स्थापना भइसकेको तथ्य उल्लेख गरे। उनले नीति निर्माणका क्रममा यस्ता उद्योगहरूको संरक्षण र प्रोत्साहन हुनुपर्ने बताए।
विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले भने निर्देशिका तयार पार्ने क्रममा संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनजस्ता निकायहरूले अपनाएका अभ्यासहरूको समेत अध्ययन गरिएको जानकारी दिए।
छलफलको समापनमा विभागका महानिर्देशक राजिव पोखरेलले सवारी साधन आयातसँग सम्बन्धित स्पष्ट नियम नहुँदा नीति निर्माणको खाँचो महसुस गरिएको बताउँदै, निर्देशिकालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रमुख सरोकारवाला संस्थाहरू जस्तै नाडासँग सहकार्य गर्दै नीतिगत स्पष्टता ल्याउने दिशामा काम भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्