जुलाई १ देखि दिल्लीमा ६० लाखभन्दा बढी पुराना सवारी साधनहरूमा इन्धन प्रतिबन्ध


काठमाडौँ । जुलाई १ देखि भारतको राजधानी दिल्लीमा सुरू गरिएको वायु प्रदूषण नियन्त्रण अभियान अन्तर्गत पुराना पेट्रोल र डिजेल सवारीसाधनहरूलाई इन्धन दिने कार्यमा प्रतिबन्ध लगाइएको छ । यस निर्णयसँगै दिल्लीभरका करिब ६१ लाख १४ हजार ७ सय २८ वटा सवारीसाधनहरू प्रभावित हुने दिल्ली यातायात विभागका एक अधिकारीले जानकारी दिएका छन् ।

विशेषगरी जाडोयाममा विश्वकै अत्यधिक प्रदूषित राजधानीहरूमध्येमा पर्ने दिल्लीमा वायु गुणस्तर सूचकांक १ हजारसम्म पुग्ने गरेको छ । वायु प्रदूषणमा पुराना इन्धनयुक्त सवारीसाधनहरूको भूमिका मुख्य मानिँदै आएको छ ।

इन्धन प्रतिबन्ध अन्तर्गत १५ वर्षभन्दा पुराना पेट्रोल सवारीसाधनहरू र १० वर्षभन्दा पुराना डिजेल सवारीहरूलाई इन्धन स्टेशनहरूमा इन्धन भर्ने सुविधा नदिइनेछ । यदि नियम उल्लंघन भएमा ती सवारीसाधनहरू तुरुन्तै जफत गरिनेछ ।

यो निर्णयले सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधनहरू प्रभावित हुनेछन् । अनुमान अनुसार ४० लाखभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधनहरू यो सूचीमा पर्छन् । तर, विशेष अनुमति प्राप्त, कम्प्रेस्ड नेचुरल ग्यासमा सञ्चालन हुने वा विद्युतीय सवारीसाधनहरू भने यस नियमबाट मुक्त रहनेछन् ।

दिल्लीका झन्डै ५०० इन्धन स्टेशनहरूमा जडान गरिएका स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमार्फत प्रतिबन्धित सवारीहरूको पहिचान गरिनेछ ।

यो अभियान चरणबद्ध रूपमा विस्तार हुँदै जानेछ । सन् २०२४ को नोभेम्बर महिनाबाट गुरुग्राम, फरीदाबाद, गाजियाबाद, गौतम बुद्ध नगर र सोनीपत लगायत दिल्ली वरपरका पाँच उच्च सवारी चाप भएका जिल्लामा पनि यही प्रतिबन्ध लागू गरिनेछ । बाँकी राष्ट्रिय राजधानी क्षेत्रमा भने आगामी वर्षको अप्रिलदेखि यो नियम लागू हुनेछ ।