डाेल्पामा हुँदै नभएको विद्यालय खडा गरेर ७ लाख ६० हजार हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । डोल्पा जिल्लामा अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाइ सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार डोल्पा जिल्लाको तत्कालीन दुनै गाविस–२ र ३ मा दुर्गा प्राथमिक विद्यालय तिप्ला नामक कुनै विद्यालय नरहेको पुष्टि हुँदाहुँदै पनि सोही नाममा विद्यालय भवन निर्माणको योजना पारिएको थियो।

सो योजना अन्तरगत २०६७/०६८ सालमा दुई कोठे भवन निर्माणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर भवन निर्माण नहुनुका साथै दुर्गा प्रा.वि. नामको कुनै विद्यालय नै नरहेको खुलेको छ।

अनुसन्धानका क्रममा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नम्बर ४ मा मात्र श्री लालिगुराँस आधारभूत विद्यालय रहेको पाइएको हो। दुर्गा प्रा.वि. तिप्ला नामक विद्यालय कतै नदेखिएपछि अख्तियारले स्थलगत अध्ययनमार्फत विद्यालय नभएको प्रमाणसहित निष्कर्ष निकालेको हो।

सोही योजनाअन्तर्गत जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा काल्पनिक उपभोक्ता समिति गठन गरी सरकारी रकम दुरुपयोग गरेको आयोगले जनाएको छ।

उनीहरूले विद्यालय नभएको स्थानमा भवन बनेको भनी झुटा कागजात तयार पारेर चेकमार्फत रकम भुक्तानी लिएको प्रमाणित भएपछि अख्तियारले उनीहरू उपर सार्वजनिक सम्पत्तिमा हिनामिना तथा भ्रष्टाचारको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।