काठमाडाैँ । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरू हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरू हुँदै छ । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ ।
एन्फाले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै यस युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो । लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । तर आवश्यकताअनुरूप केही खेलहरू दशरथ रंगशालामा पनि गरिने एन्फाले जनाएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले युथ डेपलभमेन्टका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेकाले यसलाई व्यवस्थित रूपले सञ्चालनका गर्ने बताए ।
किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा जनाउने भएका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन नपाउने भएको छ । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गर्ने एन्फाको प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए ।
यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । हरेक टोलीलाई तीन लाख ५० हजार रूपैयाँ तयारी खर्च दिएको एन्फाका प्रवक्ता शाहले जनाएको छ । यो फिफा ट्यालेन्ट डेभलपमेन्ट स्किमअन्तर्गत यो लिग हुन लागेको हो ।
लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । तर, पुरस्कार रकम कम भए पनि एन्फाले यसको तयारी खर्च एक करोड दुई लाख ३६ हजार ३३० रुपैयाँ लाग्ने अनुमान गरेको छ । एन्फाका प्रवक्ता शाहले यो डेभलपमेन्ट कार्यक्रम भएकाले धेरै पुरस्कार नराखिएको बताए ।
यो प्रतियोगिताको मुख्य उद्देश्य नै युथ फुटबल विकास गर्नु रहेको उनको भनाइ छ । साथै यसै कार्यक्रममार्पmत दक्ष निर्णायकहरू उत्पादन गर्न पनि मद्दत मिल्ने एन्फाको विश्वास छ । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
शुक्रबार पहिलो दिनको खेलमा श्रीभगवती र मनाङ मस्र्याङ्दी तथा आर्मी र हिमालयन शेर्पा खेल्ने भएका छन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्