गुणस्तरहीन भेटिएपछि ‘हटपोट’ ब्राण्ड चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरामा उत्पादन हुने ‘हटपोट’ ब्राण्डको तयार चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

बजार अनुगमनका क्रममा विभागले संकलन गरेको नमुनाको परीक्षण गर्दा गुणस्तरमा न्यूनस्तर देखिएकोले उक्त निर्णय लिइएको हो।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार उत्पादक कम्पनी पोखरा नुडल्स प्रा.लि.ले उत्पादन गरेको ‘इन्स्टेन्ट नुडल्स’ (ब्याच नं: १२७.यू२, उत्पादन मिति: २०८१ भदौ मा न्यूनस्तर भेटिएको हो।

विभागका खाद्य निरिक्षण अधिकारी नवराज आचार्य नेतृत्वमा गरिएको परीक्षणपछि सार्वजनिक खाद्य विश्लेषकले सो उत्पादन मान्य मापदण्ड अनुरूप नरहेको ठहर गरेपछि विभागले खाद्य ऐनको दफा ३८(३) अनुसार उक्त चाउचाउको बिक्री वितरण तत्काल रोक्न तथा बजारमा उपलब्ध सबै ब्याचका सामान फिर्ता गर्न कम्पनीलाई आदेश दिएको हो।

साथै, विभागले सो ब्याच नम्बरको खाद्य वस्तु बिक्री, वितरण वा प्रयोग नगर्न र नगराउन समेत उपभोक्ता, वितरक, खुद्रा व्यापारी लगायत सबैलाई अनुरोध गरेको छ।