काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आगामी २४ घण्टासम्म अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ। साथै, गण्डकी लगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने देखिएको छ। यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको विभागको भनाइ छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागहरूमा वर्षा वा हिमपातको सम्भावना पनि औंल्याइएको छ।
मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यस्तो अवस्थामा वर्षा झन् तीव्र हुन सक्ने भएकाले विभागले डुबान, पहिरो र बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्