बाढी पीडितको उद्दार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह


काठमाडौँ। रसुवामा आएको बाढीले मानवीय र भौतिक क्षति निम्त्याएकोप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले विपद् व्यवस्थापनमा युद्धस्तरमा जुट्न आग्रह गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण ३ प्रहरीसहित १५ जना नागरिक बेपत्ता भएकोप्रति दुःख प्रकट गर्दै नेपाली कांग्रेसले मितेरी पुल र भन्सार क्षेत्रका कन्टेनर तथा अन्य सवारीसाधन बगाउँदा करोडौंको क्षति भएको उल्लेख गर्दै तत्काल प्रभावकारी उद्दार र राहत कार्य सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हरेक वर्ष वर्षायाममा बाढी र पहिरोको प्रकोप सामना गर्नु परिरहेको र गत वर्षको असोज १२ गते पनि बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएको स्मरण गराउँदै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई एकजुट भएर व्यवस्थित योजनाका साथ विपद् व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरिएको छ ।