गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड २६ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौँ । गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीमा कार्यरत लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसाको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले २०५४ साल माघ ८ गतेदेखि २०८० साल मंसिर १० गतेसम्मको सेवाकालमा आफू र आफ्ना परिवारका नाममा कूल ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसाको मात्र आय देखाएका थिए। तर सोही अवधिमा उनले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसाको खर्च तथा लगानी गरेका थिए।

यो हिसाबले उनले स्रोत नखुलेको ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसाको सम्पत्ति आर्जन गरेको देखिएको आयोगले जनाएको छ।

अनुसन्धानको क्रममा पौडेलले आफ्नो पदको दुरुपयोग गरी वैधानिक स्रोतबिना सम्पत्ति आर्जन गरेको, अस्वाभाविक उच्च जीवनशैली अपनाएको र सम्पत्ति विवरणमा झुटा विवरण पेश गरेको प्रमाणित भएको आयोगको दाबी छ।

सोही आधारमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न धाराअनुसार कैद, जरिवाना र गैरकानूनी सम्पत्ति जफतको मागसहित आरोपपत्र दायर गरेको हो।

त्यस्तै पौडेलले सार्वजनिक पदमा रहँदा आर्जन गरेको केही सम्पत्ति आफ्नी पत्नी हुमा कुमारी उपाध्यायको नाममा राखेको देखिएकोले, ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।