काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा चोरी तथा हराएका १ हजार ३९६ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सवारी चोरी नियन्त्रणमा ट्राफिक प्रहरीले हासिल गरेको यो सफलता उल्लेखनीय मानिएको छ।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ४९९ वटा, ०८०/८१ मा ४१७ ओटा र चालु आर्थिक वर्ष ०८१/८२ को असार २९ गतेसम्ममा ४८० ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारिएका छन्। यसरी मात्र तीन आर्थिक वर्षमा चोरी वा हराएका सवारी साधनमध्ये १ हजार ३९६ ओटा ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको हो।
चालु वर्षमा खोजतलास गरिएका ४८० ओटा सवारीमध्ये पछिल्लो पटक आइतबार मात्रै २० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ती सवारी साधन धनीलाई हस्तान्तरण गरेका हुन् ।
प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार चोरीमा संलग्न ७४ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी विभिन्न प्रहरी इकाइहरूमा पठाइएको छ। केही सवारी साधन वास्तविक नम्बर प्लेटमा, भने केही नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सवारी चोरी न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पार्किङ सुरक्षामा विशेष ध्यान दिन आम नागरिकलाई आग्रह गरेको छ। गिरीका अनुसार ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जडान गर्न, सुरक्षा साइरन प्रयोग गर्न, तथा एकान्त स्थानमा सवारी नपार्क गर्न सुझाव दिइएको छ। साथै, सवारी हराएमा ट्राफिक हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्