भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे सार्वजनिक अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिएका छन् ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरू आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गरेका हुन्।

उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गरे। उनले विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि चरित्र हत्या गरिएको जिकिर गरे । उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नको लागि मन्त्रालय आएपनि आफूले अस्वीकार गरेको पनि उल्लेख गरे । 

मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ । यसअघी तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम पोलेका थिए ।