आज साउनको पहिलो सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फाेटाे फिचर)


काठमाडौँ । आज साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।

आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरिएको पशुपति क्षेत्र विकास कोषका एक सदस्यले जानकारी दिए ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार ओटै सोमबार निरन्तर चलिरहने कोषले जनाएको छ ।