नेपालको वैदेशिक व्यापार १९ प्रतिशतले बढ्यो


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले २० खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ ।

आर्थिक वर्ष २०८० ८१ को तुलनामा १९.२४ प्रतिशतले नेपालको वैदेशिक व्यापार बढेको हो । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको थियो ।

नेपालको आयात १३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो भने गत आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।

नेपालको निर्यात ८१.८० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

गत आर्थिक वर्षमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँको व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा ६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।