काठमाडाैँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हिजाे यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेट गरी आगामी सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ सम्बन्धमा विस्तृत छलफल गरेको छ।
छलफलमा सवारी साधन आयात, उत्पादन र जडानसँग सम्बन्धित विभिन्न विषयहरू उठाइएको थियो।
विशेषगरी विद्युतिय सवारी साधनहरूको वारेन्टी, ग्यारेन्टी, अधिकृत सेवा केन्द्र तथा चार्जिङ स्टेसनको व्यवस्थासहित मात्र आयात अनुमतिका माग, सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने प्रस्ताव, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेट, कागजात र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्या सम्बन्धी विवाद, भन्सार महसुल निर्धारणका लागि आधारहरूको सिफारिस, साथै ट्याक्सी व्यवसायीको गुनासो जस्ता विषयमा छलफल भएको थियो।
नाडाका अध्यक्ष चौधरीले निर्देशिकाका सम्बन्धमा बुँदागत छलफल आवश्यक रहेको उल्लेख गर्दै विभागलाई सुझावहरू पठाउने बताए। उनले विभागले नाडालाई छलफलका लागि बोलाएकोमा आभार समेत प्रकट गरे। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकाका केही बुँदाहरू नेपालकै व्यावहारिक सन्दर्भमा पुनःविचार गर्नुपर्ने र थप छलफल आवश्यक रहेको बताए।
महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन र जडानका लागि स्पष्ट नीति र नियमावली नभएको अवस्थामा यस निर्देशिका ल्याउने तयारी भईरहेको बताउँदै विभिन्न चरणमा छलफल हुने बताए। उनले व्यवसायीहरूलाई व्यवधान सिर्जना गर्ने धारणा गलत भएको र सरकारले व्यवसायीहरूको सहकार्यमा देशको आर्थिक विकासमा योगदान दिन चाहेको बताए।
नाडाका अध्यक्ष चौधरीले सवारी साधन परीक्षण सुविधा (टेस्टिङ्ग फ्याकिलिटी) उपलब्ध गराउनुपर्ने प्रस्ताव राख्दा महानिर्देशक पोखरेलले तीनवटा मुख्य विषयमा नाडासँग सहकार्य गरेर अगाडि बढ्न सकिने प्रतिबद्धता व्यक्त गरे। सो छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयातसम्बन्धी व्यवस्थाहरूको विस्तृत जानकारी दिएका थिए। यस अवसरमा नाडाका काष्ठाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय समिति सदस्य यमुना श्रेष्ठ र सचिव सुरेन्द्र प्रधान समेत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस्