स्वास्थ्य बिमा अपरिहार्य रहेकोमा अध्यक्ष थापाको जोड


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य बिमा अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

भैरहवामा हिजो र आज सञ्चालन गरिएको बोर्डका दर्ता अधिकारीका लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष थापाले बोर्डलाई एक नम्बरको स्वास्थ्य पद्दतिको कार्यक्रम बनाउनुपर्ने बताए ।

उनले भने,“स्वास्थ्य सेवा गुणस्तरीय बनाउनेमा बोर्ड सचेत छ, आमूल परिवर्तन गर्ने गरी अघि बढेका छौँ ।” अध्यक्ष थापाले स्वास्थ्य बिमा बोर्डलाई सुधारको पक्षमा ल्याउनुपर्ने आफूहरूको अभिभारा रहेको समेत उल्लेख गरे ।

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु स्वास्थ्य बिमा कार्यक्रमको मुख्य उद्देश्य रहेकोमा जोड दिए ।

अहिले स्वास्थ्य बिमा कार्यक्रममा करिब ६५ लाख नागरिक आबद्ध रहेको बोर्डको तथ्याङ्क छ । दैनिक ५० हजार नागरिकले स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिइरहेको र यो थप बढिरहेको बोर्डको भनाई छ ।

अध्यक्ष थापा अध्यक्ष भएपछि क्षमता तथा संरचनागत सुधारका लागि पहल गरिरहेका छन् । सोही कार्यक्रम अन्तर्गत लुम्बिनीमा क्षमता अभिवृद्धि कार्यशाला राखिएको हो ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश संयोजक सिर्जना पौडेलका अनुसार लुम्बिनी प्रदेशमा १३ लाख ४७ हजार ९ सय २८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् ।

लुम्बिनीमा रहेका १०९ वटा स्थानीय तहमध्ये ५३ स्थानीय तहमा ६५ सेवा प्रदायक संस्थाहरू रहेको पौडेलको भनाई छ ।