रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा (फोटो फिचर)


काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व आज देशभर धार्मिक उल्लासका साथ मनाइँदै छ ।

बिहानैदेखि श्रद्धालुहरू नदी, पोखरी, ताल र कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने, तागाधारीहरूले नयाँ यज्ञोपवीत धारण गर्ने र ऋषितर्पण गर्ने परम्परा कायम छ ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले मन्त्रोच्चारणसहित डोरो बाँधेर सुरक्षित बनाएका थिए। यही प्रसङ्गबाट रक्षाबन्धनको परम्परा सुरु भएको धार्मिक विश्वास छ ।

रक्षासूत्र बाँध्दा परम्परागत रूपमा ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ भन्ने मन्त्र उच्चारण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार मन्त्रिएको डोराले नकारात्मक शक्तिबाट रक्षा हुने मान्यता छ ।

आजकै दिन ब्राह्मण, क्षत्रिय र वैश्य गरी तीन वर्णका तागाधारीहरूले जनै फेर्ने विधान छ । यसका लागि अघिल्लो दिनदेखि व्रत बसेर चोखोनीतो गरी बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरेर श्रावणी स्नान गरिन्छ । त्यसपछि जौ, तिल र कुशद्वारा आठ ऋषि-कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलाई पूजा र तर्पण गरिन्छ । यही कारण आजलाई ऋषितर्पणी पनि भनिन्छ ।

तस्विरः न्युज एजेन्सी नेपाल