काठमाडाैँ । स्याङ्जा जिल्लामा अवैध रूपमा ढुङ्गा ओसार–पसार गरिरहेको अवस्थामा प्रहरीले दुई ट्याक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको टोलीले गल्याङ नगरपालिका वडा नम्बर ५ रूखापानी र घिमिरेखोला क्षेत्रमा अवैध ढुङ्गा ढुवानी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा विहिबार बिहान छापा मारी ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा परेका सवारीसाधनमा ग.१ त. ७१५५ नम्बरको ट्याक्टर र लु.४ त. ६५६७ नम्बरको ट्याक्टर रहेका छन्। प्रहरीले ती ट्याक्टरहरू वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रहरीका अनुसार ढुङ्गा ओसार–पसारमा संलग्न व्यक्तिहरूको पहिचान र थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्