ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूबिच ह्वाइट हाउसमा बहुपक्षीय वार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र सात युरोपेली नेताहरूले सोमवार ह्वाइट हाउसमा बहुपक्षीय वार्ता गरेका छन् ।

सोही दिन ट्रम्प र जेलेन्स्कीबिच भएको द्विपक्षीय बैठकपछि नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले वार्तामा भाग लिएका थिए ।

मिडियालाई सम्बोधन गर्दै ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लागि सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सहमत भएको बताए ।

जेलेन्स्कीले सुरक्षामा संयुक्त राज्य अमेरिकाले बलियो संकेत दिने महत्वमा जोड दिँदै ट्रम्पले सम्भावित त्रिपक्षीय बैठकमा भाग लिनसके युक्रेन खुशी हुने बताएका हुन् । ट्रम्पले यस्तो त्रिपक्षीय बैठक सकेसम्म चाँडो आयोजना गरिनुपर्ने उल्लेख गरे ।

युरोपेली नेताहरूले युद्धविरामको विचारलाई समर्थन गरेका छन् । युक्रेनको सुरक्षा ग्यारेन्टीमा केही प्रगति हुनसक्ने बताएका छन् । सोमवारको बैठकहरू ट्रम्प र पुटिनले शुक्रवार अमेरिकी राज्य अलास्कामा लगभग तीन घण्टा भेटेपछि भएको थियो ।