हल्ला, उक्साहट, च्याट ग्रुप लगायतका आधारमा कारोबार नगर्नुहोस्ः नेप्से


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुपरक्लबहाउस र टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न आग्रह गरेको छ । नेप्सेले सूचना जारी गर्दै नेप्सेको नाम, लोगो, भवनको तस्वीर प्रयोग गरेर एप, पेज वा समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिनको लागि आग्रह गरेको हो ।

केहि समययता नेप्सेको नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो, अडियो लगायतका झूठा दाबीहरु देखिन थालेको उल्लेख गरेको छ । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने नेप्सेले जनाएको छ ।

नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पारेको छ । त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत रहेको उल्लेख गरिएको छ ।

नेप्सेले सूचना, प्रेस नोटः नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने जनाएको छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध रहेको जनाइएको छ ।

शंकास्पद सामग्री देखिएमा स्क्रिनसट लिङ्क सहित नेप्सेलाई जानकारी गराउन अनुरोध गरेको छ ।