मधेशको कृषि समस्या समाधानमा संघीय सरकार गम्भीर छः मन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेश प्रदेशको कृषि क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर तत्काल, अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनकपुरमा मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा मन्त्री अधिकारीले खडेरीका कारण मधेशलाई विपद् क्षेत्र घोषणा गरेपछि उत्पन्न अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै संघीय सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन्।

उनले किसानले भोगिरहेको समस्या, रासायनिक मलको अभाव, कृषियोग्य भूमिमा सिंचाइको अवस्था, उखु किसानको समस्या तथा कृषिको आधुनिकीकरणको आवश्यकता बारे छलफल भएको जानकारी दिए ।

मन्त्री अधिकारीले संघीय सरकारले किसानलाई आवश्यक रासायनिक मलमा उपलब्ध गराइरहेको सहुलियतलाई थप बढाउने तयारी गरेको उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारसँग मिलेर समस्याको दीर्घकालीन समाधान निकालिने बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्रीहरु रामकृष्ण यादव, अमनलाल मोदी र हरि प्रसाद उप्रेती, सांसद देवप्रसाद तिमल्सिना, संघीय मन्त्रालयका सचिव डा. गोबिन्द शर्मा, मधेश प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल, मन्त्रालयका सचिव डा. उमेश दाहाललगायतका उच्च तहका अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

मन्त्री अधिकारीले छलफलका क्रममा उठेका विषयलाई तत्काल सम्बोधन गर्दै प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याए ।