सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याइएको हो, आलोचकको मुख थुन्न होइनः मन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको उद्देश्य आलोचक वा व्यवस्थाविरोधीको मुख थुन्ने नभएको प्रष्ट पारेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैदान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्ने उद्देश्यले विधेयक अघि सारिएको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत अशान्ति फैलाउने तथा राष्ट्रहितविपरीत गतिविधि नियन्त्रण गर्न यो कानुन आवश्यक भएको जिकिर गरे।

उनका अनुसार सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी ‘मेटा’लाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको छ । “हामीले तीन पटक दर्ता हुन आउन भनेका छौं, तर उनीहरूले नेपालको संविधान र कानून मान्दैनौं भनेर जवाफ दिएका छन्,” मन्त्री गुरुङले भने ।

उनले सर्वोच्च अदालतले पनि डिजिटल प्लेटफर्मलाई तत्काल नियमन गर्न निर्देशन दिएको भन्दै सबै प्लेटफर्म कानूनी दायरामा ल्याउन विधेयक महत्वपूर्ण हुने उल्लेख गरे । “सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने व्यवस्था मिलाउन विधेयक आएको हो, आलोचक वा विरोधीलाई नियन्त्रण गर्न होइन,” उनले भने ।

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, उत्तरदायी र मुलुकको हितअनुकूल बनाउन सरकारले विधेयक अघि सारेको पुनः दोहोर्‍याउँदै उनले प्रतिपक्षलाई पनि सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गरे ।