सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनले बताएका हुन् ।

यसले बजारमा सुधारको संकेत दिएको उनको भनाइ छ । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहेपनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनले उल्लेख गरे ।

उनले सरकारले अबलम्बन गरेका नितिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको बताए । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाइ छ ।

उनले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले जानकारी दिए । बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको उनले बताए ।

अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहेपनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उनले बताएका छन् ।

अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनकाे भनाइ छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उनको माग छ ।  

उनले नेपालको अर्थतन्त्रमा अटोमोबाईल्स क्षेत्रले महत्वपूर्ण योगदान रहेको पनि बताए ।