सांसद लिम्बूको प्रश्नः करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने ?


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशिल रहेको बताउनु भयो । उहाँले यसमा कोकोहोला गरिरहन जरुरी नरहेको बताए । उनले सरकार निजी विद्यालयको घाँटी समात्ने गरी अघि नबढेको स्पष्ट पारे ।नेताहरू एउटै निर्णयमा अडग रहन नसक्दा पनि समस्या आइरहेको उनको भनाइ छ ।  

“निजी क्षेत्रको साथीहरूलाई विश्वासमा लिएर उत्तरदायी बनाएर जानेकुरामा छौँ । उहाँहरूको घाँटी समात्ने प्रक्रियामा छैनौँ । महंगी बढेको अवस्था छ । आवश्यकता दिनका दिन बढ्दै गएको छ । शुल्क बढाएकै अवस्था छ । त्यत्रो ठूलो आत्तिहाल्नैपर्ने अवस्था होइन,” उनले भने ।

सांसद लिम्बूले निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए ।