काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन्ः सिइओ शर्मा


काठमाडौँ । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोबाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रूपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ । उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजिकरण गरिदिन आग्रह पनि गरे ।

नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिदाँ समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ छ ।

अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका बिषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरि हायर पर्चेज क्षेत्रमा खराज कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।