लिपुलेक व्यापार मार्गबारे भारत–चीन सहमतिप्रति सांसद नेपालीको आपत्ति,उच्चस्तरीय पहल गर्न माग


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले भारत र चीनबिच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयप्रति आपत्ति जनाएकी छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई बेवास्ता गर्दै गरिएको यस्तो एकतर्फी कदम देशको सम्मान र स्वाधिनतामाथि गम्भीर प्रहार भएको बताएकी हुन् ।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग भएको प्रमाण ऐतिहासिक दस्तावेज, नक्शा, सन्धि र सम्झौताले स्पष्ट देखाउने उल्लेख गरिन् ।

सांसद नेपालीले नेपाल सरकारसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु अन्तर्राष्ट्रिय कानून र कूटनीतिक मर्यादाविपरीतको कदम भएको बताइन् ।

उनले भनिन्, “भारत र चीनबिच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राप्रपा गम्भीर आपत्ति जनाउँछ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई बेवास्ता गर्दै लिइएको यो कदम अस्वीकार्य छ।”

उनले नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माग गरिन्। नेपालको भूभाग र स्वाधिनतामाथि अतिक्रमण वा उल्लंघन कुनै हालतमा सह्य नहुने स्पष्ट सन्देश दिन सरकारलाई आग्रह गरिन्।