मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरीः मन्त्री न्यौपाने


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताएकी छन् ।

शुक्रवार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको पनि बताएकी हुन् ।

उनले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड  दिइन्।

उनले तीन तहको सरकारबिच  आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने कुरामा जोड दिइन् । स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्नको लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरिएको मन्त्री न्यौपानेको जिकिर छ । 

मुलुकको विकासका लागि विकसित देशहरुलाई पछ्याउँदै सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनको जोड छ ।