काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्र कृष्ण औँसीका दिन ‘कुशे औँसी’ पर्व श्रद्धा तथा भक्ति पूर्वक मनाइरहेका छन् । यस दिन वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश घर–घरमा भित्र्याउने परम्परा रहेको छ ।
शास्त्रीय मान्यताअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास पाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यही दिनसम्म मात्र प्रयोग गर्न मिल्छ ।
सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुश उत्पन्न गरेका थिए ।
यस पर्वसँगै पितृ सम्मान र बाबुको मुख हेर्ने परम्परा पनि जोडिएको छ । यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने भोजन खुवाएर आदर प्रकट गर्छन् । बाबु दिवङ्गत भएकाहरू भने गोकर्णेश्वर, बेत्रावतीजस्ता पवित्र तीर्थस्थलमा गई तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा रहेको छ ।
विशेषगरी काठमाडौँको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज ठूलो मेला लाग्ने गर्दछ । त्यहाँ दिवङ्गत बाबुको सम्झनामा तर्पण र श्राद्ध गर्न आउने श्रद्धालुको ठूलो भीड लाग्ने गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । त्यस्तै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि विशेष मेला भई पिण्डदान गर्ने चलन छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन खुवाई आशीर्वाद लिनु र दिवङ्गत पिताको नाममा तीर्थस्थलमा गई तर्पण गर्नु पुण्यदायी मानिन्छ । बुद्धोक्त पाराजिकायमा समेत यस दिन गरिएको कार्यले कुल स्थिर हुने उल्लेख छ ।
शास्त्रअनुसार यस दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने भएकाले यसलाई ‘पुण्य पर्व’ भनिन्छ । तर दान सुपात्रलाई मात्र दिनुपर्ने र कुपात्रलाई दिइएको दान दुवैका लागि अनिष्ट हुने मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्